दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डर

अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।

‘लोकप्रिय कलाकार/अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवा दूत हुनु भएको सूचित गर्न पाउदाँ हामी गर्वित छौं । वहाँले चलचित्र महोत्वस अवधिभर नै हाम्रा विभिन्न संस्कृतिहरुबीचको (सजीव) सम्वाद तथा विश्वका लागि हाम्रो परिकल्पनाहरुलाई पूर्णरुपमा साकार तुल्याउनका लागि हामीसँग मिलेर काम गर्नु हुनेछ । यस चलचित्रले युरोपेली र नेपाली चलचित्रहरु तथा पर्यावरणीय चुनौती तथा जलवायु परिवर्तनसँग सम्बन्धित यस क्षेत्रका चलचित्रहरुलाई तपाईंहरू सामु ल्याउने छ,’ डेलिगेसनले जनाएको छ ।

यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर चलचित्रमार्फत युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न तथा त्यसको आनन्द लिन सकिने पनि जनाएको छ । ‘फेस्टिभलको साइटमा लग इन गरे पछि सजिलोसँग चलचित्रमा समावेश भएका चलचित्र सजिलोसँग हेर्न सकिन्छ । हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नु हुने छ’, डेलिगेसनले जनाएको छ । चलचित्रहरू निशुल्क हेर्न सकिन्छ ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।

सम्बन्धित समाचार