दुई दशकपछि सडक कालोपत्र

दाङ- कच्ची बाटो पुगेको झन्डै दुई दशकपछि दाङ लमही नगरपालिका–९ स्थित रिहार–तेलिया सडकखण्ड कालोपत्र हुन लागेको छ । खडेरीमा धुलो र वर्षायाममा हिलोको समस्या झेलेका त्यहाँका स्थानीय बासिन्दाले लामो समयपछि यस्तो समस्याबाट छुटकारा पाउने भएका हुन् । असार मसान्त सकिनै लाग्दा कामले पनि तीव्रता पाएको छ । लमही नगरपालिका–९ को रिहारदेखि तेलिया बलीखुट्टीसम्म सडक कालोपत्र हुन थालेपछि त्यहाँका स्थानीयवासी खुसी भएका छन् । त्यस क्षेत्रमा कच्ची सडक पुगेको झन्डै एक दशक पछि सडक कालोपत्रे हुन लागेको हो । यो क्षेत्रमा सडक कालोपत्र भएपछि झन्डै दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुनेछन् ।

सडक कालोपत्रे भएपछि लमही नगरपालिका–९ का तेलिया, जुरपानी, कोल्तरा, तरुलिया, राजपुर गाउँपालिका–७ का बनकट्टी, लैबरुवा, सिक्टा, राताकांशसम्मका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुने राजपुर गाउँपालिका–७ राताकांशका स्थानीय शोभाराम विश्वकर्माले बताए । “कच्ची सडक हुँदा निकै सास्ती पाइयो, दुःख बिमार पर्दा गाउँघरसम्म एम्बुलेन्स आउनसक्ने अवस्था थिएन, बाटो नहुँदा कतिले ज्यान गुमाउनु परेको उदाहरण पनि छन्, अब कालोपत्र हुन लागेपछि हामी खुसी छौँ” विश्वकर्माले भने । यति मात्र होइन अब त्यस क्षेत्रमा किसानले उत्पादन गरेका कृषि सामग्रीले पनि सहज तरिकाले बजार पाउने भएका छन् ।