कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा शुक्रबारको बैठकमा ८९ जना सांसद उपस्थित थिए । जसमध्ये कार्कीले विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको प्रदेशसभाका सभामुख बाबुराम गौतमले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा ४६ मत परेको र उक्त मत प्रदेशसभामा तत्काल कायम रहेको ९३ जना सदस्य संख्याको बहुमत नभएकाले प्रस्तावलाई अस्वीकृत भएको सभामुख गौतमले जानकारी दिए ।

एमालेका कार्की गत २४ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने २५ गते पदभार ग्रहण गरेका थिए ।  प्रदेशसभामा एमालेसँग ४० र राप्रपासँग ६ मत छ । कांग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् ।

२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनपछि एमाले र माओवादी मिलेर केन्द्रमा सरकार बनाएपछि प्रदेशहरूमा पनि भागबन्डामा सरकार गठन भएको थियो। त्यस क्रममा कोशीमा एमाले नेता कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएर पुस २५ मा शपथ लिएका थिए। सरकारको नेतृत्व सम्हालेको १७३ दिनपछि कार्की नेतृत्वको सरकारले संसदमा विश्वासको मत मागेको थियो ।

एमाले नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धनको सरकार कोशीमा बनेको थियो। त्यस बेला कांग्रेस र एकीकृत समाजवादी विपक्षमा थिए। जेठ १७ मा जसपाले र जेठ २३ मा माओवादीले साथ छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए। सत्ता साझेदार माओवादी केन्द्र र जसपाले सरकार छाडेर अल्पमतमा परेपछि सरकारले जेठ ३१ मा चल्दाचल्दैको बर्खे अधिवेशन अन्त्य गरेको थियो र जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएको थियो ।