संसदमा सभामुखकाे मात्रै फाेटाे राखेकाे भन्दै उपसभामुखले जनाइन् असन्तुष्टि

उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुखको राख्ने गरेपनि उपसभामुखको नराख्दा आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् । ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् ।

उनले आफू केही समयअघि सिंगापुरको संसद भवनमा गरेको भ्रमणबारे बताउँदै संसदमा राखिएका सभामुखका तस्बिरबारे बताएकी थिइन् । त्यहाँको संसदमा विगतदेखि वर्तमानसम्मका सभामुखको तस्बिर राखेको पनि उनले बताइन् ।

‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा । हामीमा खै त त्यस्तो ?’ उनले प्रश्न गरिन् ।