तीन दिन चलेर दुई विधेयक पारित गरि गण्डकीको हिउँदे अधिवेशन अन्त्य

गण्डकी प्रदेशको हिउँदे अधिवेशनको अन्त्य भएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएको संसद सचिवालयका सूचना अधिकारी प्रेम अधिकारीले जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुईजना मन्त्री बर्खास्त गरेका थिए भने बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार गठित सरकारलाई विश्वासको मत दिएको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र पुनः विश्वास प्रमाणित गर्नुपर्ने व्यवस्था छ ।

गण्डकीको हिउँदे अधिवेशन फागुन १६ गते सुरु भएको थियो । त्यसपछि फागुन २० र २१ गते संसद चलेको थियो ।

सदनले आमसञ्चार विधेयक र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

Share