नारायणगढ-मुग्लिन सडक खण्डमा ढुंगा झर्ने क्रम रोकिएन, पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै कम्तिमा चार घण्टा लाग्ने भएको छ । गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन तीनवटा स्काभेटर परिचालन गरिएको छ ।

माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले आइतबार दिउँसोमात्रै आवागमन चलाउन सकिने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

तुइन खोलाको नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खसिरहेको छ ।

चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङका अनुसार पहिरो पन्छाउन अझै ४–५ घण्टा लाग्छ ।

मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको उनले बताए । यता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएका छन् ।