मारूती सिमेन्ट उद्योगका सञ्चालकसहित ८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । कमसल सिमेन्ट बेचेको कसुरमा सञ्चालक नन्दकिशोर राठी र उनका छोरालगायतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ पुर्जी जारी गरेको हो ।
मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको हो । बिजनेस डाइरेक्टर ज्योति शर्मा भने पक्राउ परेका छन् ।
राजविराज–४ का दिवाकर साहले घर निर्माण गर्दै गर्दा घरको ढलान र भर्याङ आफैं भत्किएपछि घर निर्माण गरिरहेका व्यक्तिले उजुरी दिएका हुन् । नन्दकिशोर राठी यति बेला छोरा अनुज राठीलाई साथमा लिएर फरार भएका छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
यसअघि पनि सिराहामा कारखाना राखेर सिमेन्ट उत्पादन गरिरहेको मारुती सिमेन्टका गुणस्तरहीन सिमेन्ट बजारमा बारम्बार भेटिने गरेका छन् । मारुती सिमेन्ट बारम्बार कारबाहीमा पनि परिरहेको छ । तर, कारबाही भोग्दा पनि मारुतीले न सिमेन्टको गुणस्तर सुधार्छ, न त सरकारी नियामकको आदेश नै पालना गर्छ । लोभ र लाभ देखाएपछि नियामकले पनि रातारात कारबाही फिर्ता गर्ने गरेको छ।













