दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज, प्रधानसेनापति र स्वास्थ्यमन्त्रीले गरे उद्घाटन

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित ईन्द्रावती नदीमा निर्माण भएको बेलिब्रिज सञ्चालनमा आएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रुपमा बेलिब्रिज उद्घाटन ग रे। २०७८ असारको भारी वर्षाका कारण ईन्द्रावती खोलामा आएको बाढीले १०४ मिटर पक्की पुल बगाएको थियो ।

मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने लामो कम्पोजिट पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो । हिउँदको समयमा ह्युमपाइप राखेर आवतजावत हुने गरेको भएपनि बर्खामा समस्या थियो ।

सरकारले जेठ २१ गते नेपाली सेनालाई बेलिब्रिज निर्माणको जिम्मा दियो । सोही अनुरुप सेनाले ब्रिज तयार पारेको हो । नवनिर्मित बेलीब्रिजको लम्बाई ६७.७० मिटर, चौडाई ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ । नेपाली सेनाले ४० लाख रुपैयाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको हो ।

अघिल्ला दुईवटा बर्खामा दुःख झेलेका स्थानीयले पुल बनेपछि निकै खुसी भएको जनाएका छन् । अघिल्लो बर्खामा पुल नभएपछि खोलाको जँघार तर्न नसकेर आफन्त बितेको समयमा भेट्न जान नपाएका छिरिङ लामाले पुल बनेपछि वारि र पारिको सम्बन्धविच्छेद हुने अवस्थाको अन्त्य भएको बताए । दुई वर्षसम्म नबनेको पुल एक महिनामै बन्यो भन्ने सुनेर खुसीले चनौटेदेखि मेलम्ची बजारसम्म पुल हेर्नकै लागि झरेको उनले उल्लेख गरे ।