इलाममा पहिरोले पुर्दा दुई जनाको मृत्यु, दर्जन बढी बेपत्ता

Image

इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । दर्जन बढी व्यक्ति बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामको इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ ।दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् ।

यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Share