नेपाल टेलिकमको नम्बरमा समस्या, शंकास्पद एपहरु इन्स्टल नगर्न सुझाव

नेपाल टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र त्यस्ता नम्बरमा कल गर्दा सफल भए पनि आवाज नआउने र पैसा काटिने समस्या देखिएको छ ।

केही ग्राहकहरुलाई विदेशी अपरिचित नम्बरबाट कल आउने र मान्छेको सट्टामा स्वचालित मसिनले जवाफ दिइ ब्यालेन्सबाट पैसा काटिने समस्या देखिन थालेको कम्पनीले बताएको छ ।

केही दिनयता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ ।

यस्ता घटना ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले मोबाइलमा रहेका शंकास्पद एपहरु हटाउन टेलिकमले आग्रह गरेको छ ।

कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा आवश्यक विश्लेषण भइरहेको टेलिकमले उल्लेख गरेको छ ।

अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि आफैँ पनि सतर्क हुनुपर्ने टेलिकमको भनाई छ ।

कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प प्रयोग गर्न सुझाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार