बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । फिल्म छायांकनका लागि उनी नेपाल आउन लागेका हुन् ।
भारतीय मिडिया दैनिक भास्करका अनुसार सुरज बड्जत्याको निर्माण र निर्देशन रहने ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना उनी नेपाल आउन लागेका हुन् ।
मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्मका लागि अमिताभसँगै बोमन इरानी, परिणिती चोपडा, अनुपम खेर, निना गुप्ता नेपाल आउँदैछन् । फिल्मको लुक्ला, नाम्चे, लाङटाङ र मनाङ क्षेत्रमा छायांकन हुनेछ । यद्यपी अमिताभ आफ्नो स्वास्थ्य समस्याका कारण छायांकन स्थलमा भने नजाने बताइएको छ । उनी केही दिन काठमाडौँमा बसेर फर्कने छन् ।
राजश्रीको ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभ बच्चनले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ । कोरोना भाइरसले सिर्जित अवस्थाका कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेका बेला बलिउडका ठूला स्टार अमिताभ नेपाल आउनुलाई सकारात्मक मानिएको छ ।
फिल्मको छायांकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ । यो फिल्ममार्फत सुरज र अमिताभले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।
अमिताभ बच्चन यसअघि पनि नेपाल आएका थिए । उनी ‘खुदा गवाह’ र ‘महान’ फिल्मको सुटिङका क्रममा नेपाल आएका थिए ।