त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ

राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा सुन रहेको जनाएका छन् ।

ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।

भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ ।