त्रिभुवन विमानस्थलमा राजस्व अनुसन्धान विभागको विशेष अप्रेशन जारी, थप सुन रहेको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । विमानस्थलको भन्सार परिसरमा थप सुन रहेको आशंकामा विभागले अप्रेशन जारी राखेको हो । विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ ।

विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ।

क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शु भित्र सुन राखेर भित्र्याएको पाइएको हो। पक्राउ पर्नेमा दोलखाका रामकुमार भुजेल, दीलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन्। एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका छन्।

बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।   सुन भित्र्याउने मुख्य योजनाकारको खोजी भइरहेको छ ।