सुन तस्करी प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेका छन् । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो। उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

बुधबार राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।  क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शु भित्र सुन राखेर भित्र्याएको पाइएको हो। पक्राउ पर्नेमा दोलखाका रामकुमार भुजेल, दीलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन्। एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका छन्।

बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।   सुन भित्र्याउने मुख्य योजनाकारको खोजी भइरहेको छ ।