आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ ।

साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।