नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पदाधिकारी पदमा उमेदवारी दिएनन् । पार्टी निर्वाचन आयोगले तोकेको समयावधिभित्र ज्ञवालीले पदाधिकारीमा नभई केन्द्रीय सदस्य पदमा मात्रै मनोनयन दर्ता गराएको निर्वाचन समिति स्रोतले जनाएको छ।
निर्वाचन आयोगले सोमबार साँझ ५ बजेसम्म उमेदवारी फाराम वितरण तथा दर्ताको समय तोकेको थियो। सो समयसीमाभित्र ज्ञवालीले पदाधिकारी पदका लागि फाराम नभरि केन्द्रीय सदस्यमा मात्र मनोनयन दर्ता गराएका हुन्।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट ज्ञवालीलाई उपाध्यक्ष पदका लागि अघि सार्ने तयारी भएको थियो। तर उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ज्ञवालीले आफू उपाध्यक्षको उमेदवार नबन्ने स्पष्ट पारेका थिए। उमेदवारी नदिने निर्णयसँगै उनी काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाट बाहिरिएको स्रोतले जनाएको छ।
ज्ञवाली यसपटक महासचिव पदका प्रमुख दाबेदारका रूपमा हेरिँदै आएका थिए। १०औँ महाधिवेशनबाट उपमहासचिव बनेका उनी पार्टीभित्र वैचारिक र सांगठनिक रूपमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्।
उनको पदाधिकारीमा उमेदवारी नदिनुले महाधिवेशनको शक्ति सन्तुलन र आन्तरिक राजनीतिमा प्रभाव पार्ने आकलन गरिएको छ।














