एमाले अध्यक्षका उम्मेदवार ओली र पोखरेलले गरे मतदान, भोट खसाल्न लगाए ४० मिनेट

Image

नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार पोखरेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय लगाएका छन् ।

एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । ओली र पोखरेल लगायतका नेताहरुसँगै मतदान गर्न गएका थिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मात्र मतदान सुरु भएको छ ।

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न ३० देखि ४० मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब १० घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।