प्रधानमन्त्रीलाई सिटौलाले भने : हामीमाथि धोकाधडी भयो, सजिलो गरी चल्छ भन्ने नसोच्नुहोला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । आइतबार बिहान करिब २० मिनेट बालुवाटारमा सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेका थिए ।

सो क्रममा सिटौलाले आफू राष्ट्रियसभाका निम्ति आकांक्षी नै नभएका बेला अध्यक्ष बन्न आग्रह गरेर निर्वाचनमा होमिन भनिएको भन्दै पार्टीसँगै व्यक्तिगत रूपमा विश्वासघात गरिएको बताएका थिए ।

‘तपाईंले मलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँछु भन्ने बचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ,’ सिटौलाले प्रधानमन्त्री प्रचण्डसँग गरेका कुराकानी उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंले कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो ।’

सिटौलाले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन माओवादीले नमानेका कुरादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा केन्द्रित रहेर प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए ।

Share