सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएको हो । उक्त दुर्घटना परी मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल बालुवाटार बस्ने शिवसुन्दरको स्थायी घर नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका शिवसुन्दरको उपचारका क्रममा नयाँबजारस्थित पिपल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।