कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश माथेमा र श्रेष्ठको इजलासमा

कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।

सर्वोच्चले मुख्यमन्त्री नियुक्ती गर्दाका सक्कल फाइल झिकाउँदै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले थापालाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षर लगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखको असार २१ को निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको थियो ।

थापाको नेतृत्वमा गठित सरकार बदर गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ ।

एमालेले रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।

सर्वोच्चका रिट पर्नु अघि शुक्रबार बिहान नै थापाले शपथ लिएर पदबहाली गरिसकेका थिए ।