एक मन्त्री र राज्यमन्त्री लिएर सुदूरपश्चिम सरकारमा जाँदै नागरिक उन्मुक्ति

सुदूरपश्चिम सत्ता गठबन्धनमा रहेर पनि असन्तुष्ट नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा सामेल हुने भएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जाने भएको हो ।

नाउपा स्रोतले प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन लागेको जनाएको छ । पार्टीको संसदीय दलले यसअघि नै सरकारमा उनीहरुलाई पठाउने निर्णय गरेको एक जना प्रदेशसभा सदस्यले बताए ।

उनीहरु सोमबार (आज) मन्त्रीमा नियुक्त हुन सम्भावना छ । गत जेठमा सरकार विस्तारका क्रममा उन्मुक्तिको भागमा कृषि मन्त्रालय परेको थियो ।

तर असन्तुष्टि जनाउँदै उन्मुक्ति सरकारमा सामेल भएको थिएन । सत्तारुढ गठबन्धनभित्र उन्मुक्तिले दुई पूर्ण र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको थियो ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि भागबन्डामा असन्तुष्ट हुँदै सरकार बाहिर बसेको उन्मुक्ति अहिले भित्रिन लागेको हो ।