राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको सहमतिपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा निर्वाचनमा कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा छलफलमा छन् ।
लोकप्रिय मतसहित काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका बालेन यतिबेला काठमाडौँबाटै प्रतिनिधिसभा निर्वाचन लड्ने कि मधेसतर्फ जाने भन्ने विषयमा आन्तरिक छलफलमा जुटिरहेका छन्। देशका विभिन्न निर्वाचन क्षेत्रबाट उनको उम्मेदवारीको चर्चा चले पनि हाल उनी आफूले मेयर जितेको काठमाडौँ क्षेत्रबाट चुनाव नलड्ने मनस्थितिमा रहेको बताइन्छ।
बालेन निकट स्रोतका अनुसार उनी काठमाडौँ बाहेकको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने पक्षमा छन्। काठमाडौँ बाहिरबाट चुनाव लडेर देशव्यापी रूपमा रास्वपाको पक्षमा राजनीतिक माहोल सिर्जना गर्ने रणनीतिमा बालेन रहेको उनका निकटवर्तीहरूको भनाइ छ।
विशेषगरी पुख्र्यौली घर रहेको महोत्तरीबाट प्रतिनिधिसभा निर्वाचन लड्न उनका नजिकका व्यक्तिहरूले सुझाव दिइरहेका छन्। बालेनको पुख्र्यौली घर महोत्तरी भए पनि उनको जन्म काठमाडौँको गौरीगाउँमा भएको हो। स्थायी बसोबास भने महोत्तरीमै रहेको बताइन्छ।
रास्वपाभित्र बालेनको उम्मेदवारीलाई केवल एउटा निर्वाचन क्षेत्रको प्रतिस्पर्धामा सीमित नराखी राष्ट्रिय राजनीतिक सन्देशका रूपमा अघि बढाउनुपर्ने धारणा बलियो बन्दै गएको देखिन्छ। यही कारण उनका लागि उपयुक्त निर्वाचन क्षेत्र कुन हुने भन्ने विषयमा पार्टीभित्र गहिरो छलफल भइरहेको छ।
















