नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। हाल पार्टीभित्र देखिएको विवादले कांग्रेस नफुट्ने बताउँदै उनले सबैलाई ढुक्क हुन आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेस एकढिक्का रहने दाबी गरे।
महामन्त्री शर्माले कांग्रेस विभाजनको चर्चा अनावश्यक र आधारहीन भएको भन्दै यस्ता अड्कलबाजी नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। उनका अनुसार पार्टीभित्र देखिएका मतभेदहरू स्वाभाविक भए पनि तिनको समाधान असम्भव छैन।
‘सबै कुरा मिलाउन सक्ने ताकत राख्ने कांग्रेसले पार्टीभित्रका विवादहरू सहजै मिलाउन सक्छ। मिलाउँछ,’ उनले थपे।
पार्टी नेतृत्वबीचको छलफल र आन्तरिक संवादमार्फत हाल देखिएका विवाद छिट्टै टुंगिने विश्वास शर्माले व्यक्त गरे।
















