भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु

दार्चुला । दार्चुलामा थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो मृत्यु भएको हो । जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते पक्राउ परेका महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए ।

भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो । लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको हो । चौधरी कैलालीका हुन् ।

मुद्दा शाखामा सोधपुछ चलिरहेका बेला कुँवर भागेको प्रहरीले जनाएको छ । मृतक प्रहरी जवान चौधरीको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ।

यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।

Share