सहमतिको प्रयास असफल, कांग्रेस फुटनजिक पुगेको छ : रमेश लेखक

Image

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेको छलफल सफलता उन्मुख नरहेको बताएका छन्।

जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लेखकले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको स्पष्ट पारे।
“हामीले धेरै प्रयास गर्‍यौँ, धेरै नै लचकता अपनायौँ। तर अहिलेसम्म समाधान निस्कन सकेको छैन। छलफलले सफलता पाउन सकेको छैन,” उनले बैठकमा भने।

महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनतर्फ अघि बढेपछि पार्टी विभाजनको अवस्था आउन नदिन संस्थापन पक्ष संवादमा जुटेको थियो। यसक्रममा संस्थापन समूह, विशेष महाधिवेशन समूह र शेखर कोइराला समूहका प्रतिनिधि नेताहरूबीच पटक–पटक छलफल भएको थियो।

तर विशेष महाधिवेशन पक्षले राखेको सभापति शेरबहादुर देउवाको बहिर्गमनलगायत मुख्य अडानमा सहमति हुन नसक्दा कांग्रेस फुटनजिक पुगेको लेखकको भनाइ छ। निरन्तर संवाद र प्रयासका बाबजुद सहमति नजुट्दा पार्टीभित्रको संकट झनै गहिरिँदै गएको संकेत देखिएको छ।