एमसीसीको पक्षमा माहौल बनाउन अमेरिकी दूतावासमार्फत मिडियामा करोडौँ खर्च
चर्चित विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत पैसा
नेपालमा एमसीसी लागू गर्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासले मिडियामा लाखौँ डलर खर्च गर्ने भएको छ ।
नेपालमा एमसीसी विरुद्धका आवाज चर्को बनेपछि यसलाई रोक्न दूतावासले नेपालमा सञ्चालित मिडिया र यसमा सक्रिय पत्रकारलाई छनौट गर्ने र उनीहरूलाई आर्थिक सहायता गर्ने योजना बनाएको हो । यसका लागि दूतावासले अहिले नेपालमा सञ्चालित टिभी पत्रपत्रिका अनलाइन र रेडियोहरूको छनौट गरिरहेको छ भने केहीलाई पहिलो चरणको रकम उपलब्ध गराइसकेको छ ।
स्थापित मिडियामार्फत एमसीसीका विषयमा प्रचार प्रसार गर्दा यसका विरुद्धका आवाज नियन्त्रण हुने विश्वाससहित दूतावासले मिडियाका लागि मात्रै झन्डै १ करोड डलर बाँडिसकेको छ । दूतावासले उपलब्ध गराएको सहायताबापत मिडियाले एमसीसीको पक्षमा समाचार प्रसारण गर्ने, यसका सकारात्मक पक्ष पाठक दर्शकमाझ पु¥याउन सरोकारवालाहरूबिच बहस चलाउने तथा सम्पादकीय मार्फत एमसीसीका पक्षमा जनतालाई सुसूचित गराउने भनिएको छ ।
दूतावास स्रोतका अनुसार मिडिया आफैले यो प्रस्तावसहित आर्थिक सहायताको अपेक्षा गर्दै प्रस्ताव पेस गरेपछि दूतावासले मिडियालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
नेपालमा सञ्चालनमा रहेका मुख्य ३ वटा दैनिक पत्रिका, ६ वटा टेलिभिजन र ५ वटा अनलाइन न्युज पोर्टलले आर्थिक सहयताको अपेक्षासहित प्रस्ताव पेस गरेकोमा दूतावासले ५ टेलिभिजन, ४ पत्रिका र एक अनलाइन न्युज पोर्टललाई पहिलो चरणको रकम उपलब्ध गराइसकेको छ । आर्थिक सहयता लिएका मिडियाले एमसीसी नेपालमा लागू हुनुपर्छ भन्ने आशयसहितको विज्ञापन सन्देश नै बनाएर प्रसारण गर्ने सम्झौता भएको छ । तर, सम्झौता अनुसार प्रसारित सामाग्रीमाथि आम नागरिकस्तरबाटै चर्को आलोचना भएपछि अहिले ती मिडियाले विज्ञापन हटाएर दर्शकले नबुझ्ने पारामा एमसीसी लागू गर्न दबाब हुने खालका समाचार, अन्तर्वार्ता र बहस सञ्चालन गरिरहेका छन् ।
झट्ट हेर्दा सुन्दा वा पढ्दा सामान्य लाग्ने तर समाचारको आशय एवं अन्तर्वार्ता र बहसमा पात्र छनौट गर्दा सामान्य दर्शकले पनि एमसीसी नेपालको संसद्बाट पास गर्नुपर्छ भन्ने सन्देश दिने खालका सामाग्रीहरू प्रसारण गरिरहेका छन् । पहिलो चरणमा मिडियामार्फत यसरी प्रकाशन प्रसारण भएका सामाग्रीले पाठक दर्शकमा उद्देश्य अनुरूपको सन्देश गएको निष्कर्षसहित थप ३१ वटा मिडियालाई आर्थिक सहयता गर्नेगरि अहिले दूतावासमा काम भइरहेको छ । जसमध्ये २४ वटा मिडियाले आफै प्रस्ताव पेस गरिसकेका छन् भने थप ७ वटा चलेका मिडियालाई दूतावास आफैले प्रस्ताव पेस गर्न आव्हान गरेको छ । दूतावासबाटै फोन इमेल गर्दा गलत सन्देश जाने भन्दै मिडियासँग कुराकानी गर्ने जिम्मा नेपालका चर्चित पत्रकारलाई दिइएको छ ।
चर्चित अर्थशास्त्रका विश्लेषक र सामाजिक सञ्चालक प्रयोगकर्तालाई समेत पैसा
मिडियामा गरेका लगानीले उद्देश्य अनुसारको सन्देश प्रवाह गरेको निष्कर्ष सहित दूतावासले राजनीतिक दलका नेता, चलेका विश्लेषक, अर्थशास्त्री र सामाजिक सञ्जालका प्रयोगकर्तालाई समेत एमसीसीको पक्षमा दबाब सिर्जना गरेबापत आर्थिक सहयोग गरिरहेको छ । यस लागि व्यक्तिगत रूपमा तथा समूह बनाएरै काम भइरहेको स्रोतका दाबी छ ।
सामाजिक सञ्जालमा राम्रो पकड भएका खासगरि राजनीतिकर्मी, कलाकार तथा स्वतन्त्र विश्लेषकहरू छनौट गर्ने र उनीहरूलाई प्रयोग गर्ने दूतावासको रणनीति अनुसार अहिले दुई दर्जन व्यक्तिहरूले यसको जिम्मा लिएका छन् । चलेका विश्लेषकहरूको कुरा सुन्ने र सोही अनुसार धारणा बनाउने बहुसङ्ख्यक नेपालीहरूको स्वभाव बुझेको दूतावासले यस्ता कार्यबाट आम जनताका बिचमा उर्लिएको एमसीसी विरुद्धको आवाज कमजोर पार्न सक्ने विश्वाससहित यस्ता आर्थिक सहायताका कार्यक्रम अघि सारेको हो ।