एमाले झन्डा जलाएको आरोपमा थप २ जना पक्राउ

Image

दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति पक्राउ गरेको हो।

प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार एमालेको झन्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ।

बिहीबार राति साढे ९ बजे दाङ तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए। त्यो भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो। त्यसपछि प्रहरीले एमाले झन्डा जलाउनेको खोजी थालेको थियो।