निर्वाचनको विकल्प छैन, २१ गते मतदान सम्पन्न हुने : प्रमुख आयुक्त भण्डारी

Image

आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको रामप्रसाद भण्डारी ले बताएका छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले निर्वाचन मिति तोकिएपछि फैलिएका संशय र हल्ला गलत भएको स्पष्ट पारे र मतदान प्रक्रिया कुनै हालतमा नरोकिने बताए।

‘केही कुण्ठित तत्त्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन्,’ भण्डारीले भने। उनले २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सम्पन्न हुने दाबी गरे।

निर्वाचन आयोग व्यवस्थापकीय पक्ष हेरिरहेको भए पनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने जिम्मेवारी सञ्चारकर्मीको रहेको उनले बताए। साथै निर्वाचनको निष्ठामा खलल नपुर्‍याउन सबैलाई आग्रह गरे।

यसपटक निर्वाचनमा करिब ९–१० लाख नयाँ मतदाता थपिएको र उनीमध्ये अधिकांश युवाहरू रहेको भण्डारीले जानकारी दिए। उनका अनुसार युवाहरूको उत्साहले नेपालमा सुशासन प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिनिधिसभा विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकलाई सही ट्र्याकमा ल्याउनेमा उनको विश्वास छ। ‘यो शताब्दीकै पेचिलो निर्वाचन भए पनि हामीले यसलाई सरल बनाइसकेका छौँ,’ भण्डारीले भने, ‘निर्वाचनपछि प्रतिनिधिहरूले जनमतको कदर गर्दै मुलुकमा शान्ति र सुशासन कायम गर्नेछन्।’