युएईमा सामाजिक सञ्जालमार्फत फोटो भिडियो सार्वजनिक गरेको आरोपमा एक नेपाली नागरिकसहित १० जना पक्राउ

Image
Photo : Gulf News

युएईमा सामाजिक सञ्जालमार्फत फोटो भिडियो सार्वजनिक गरेको आरोपमा नेपाली नागरिकसहित १० जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमा वास्तविक आक्रमणको भिडियोसँगै एआईबाट बनाइएको भिडियो सार्वजनिक गरी भ्रम फैलाएको आरोपमा शुक्रबार १० जना विदेशी नागरिक पक्राउ परेका हुन् । त्यसमध्येमा एक जना नेपालका नागरिक पनि रहेको भनेर गल्फ न्युजले लेखेको छ।

प्रहरीले पक्राउ पर्नेहरूको आँखाको भाग छोपिएको तस्बिर सार्वजनिक गरेको छ। कुन देशका हुन् भनेर खुलाइएको भए पनि पूरा नाम भने सार्वजनिक गरेको छैन। पक्राउ पर्नेहरूमा इरान, पाकिस्तान, भियतनाम, फिलिपिन्स, इजिप्ट, नेपाल, क्यामरुन, भारत र बंगलादेशका छन्।

उनीहरूले केही इरानी हमला र त्यसलाई युएईका प्रतिरक्षा प्रणालीले नष्ट गरिरहेको वास्तविक तस्बिर भिडियोमा एआईबाट नक्कली दृश्य जोडेर बनाइएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यस्ता सामग्रीले सार्वजनिक सुरक्षा र सामाजिक स्थिरतामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनीहरूविरुद्ध कारबाही गरिएको जनाइएको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो क्षेत्रीय तनावका बीच यूएई सरकारले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना र अफवाह रोक्न निगरानी कडा बनाएको बताइएको छ। साथै, यस्ता सामग्री उत्पादन वा प्रसारण गर्नेलाई कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

त्यसबाहेक अलग्गै कारबाहीमा विभिन्न देशका ४५ जनालाई पनि पक्राउ गरिएको बिबिसीले जनाएको छ। उनीहरूमाथि पनि आक्रमणको भिडिओ खिचेर भ्रामक सूचना फैलाइएको आरोप छ। पक्राउ पर्ने ती ४५ जना भने कुन कुन देशका हुन् भनेर खुलाइएको छैन।