रवि लामिछाने मुद्दा फिर्ता विवाद : सर्वोच्चमा सुनुवाइ जारी

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालत मा बिहीबार पनि सुनुवाइ जारी रहेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमान को संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो। यसअघि मंगलबार बहस नसकिएपछि रिटलाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

रिट निवेदकका तर्फबाट बहस सम्पन्न भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले जानकारी दिएका छन्। अब प्रतिवादी पक्षबाट महान्यायाधिवक्ताको कार्यालय का तर्फबाट बहस हुने छ। यस रिटमा पछिल्ला दुई सातादेखि निरन्तर सुनुवाइ भइरहेको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णय गरेपछि त्यसको वैधतामाथि प्रश्न उठाउँदै रिट दायर गरिएको हो। रिट निवेदकहरूमा युवराज सफल, दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी रहेका छन्।

यसअघि शारङ्गा सुवेदी र सुनिल पोखरेल को इजलासले महान्यायाधिवक्ताको माघ २ गतेको निर्णयसहित सम्बन्धित कागजात झिकाउन आदेश दिएको थियो।

महान्यायाधिवक्ताको निर्देशनपछि विभिन्न जिल्ला सरकारी वकिल कार्यालयहरूले सम्बन्धित अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दिइसकेका छन्। तर जिल्ला अदालतहरूले सर्वोच्च अदालतबाट रिटको अन्तिम टुंगो लागेपछि मात्रै निर्णय गर्ने बताएका छन्।

कास्की, रूपन्देही, काठमाडौँ र पर्साका सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेलाई ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधका कसुरमा पनि प्रतिवादी बनाइएको छ। यद्यपि चितवनमा भने यी थप कसुरमा अभियोग नलगाउने निर्णय गरिएको थियो।

यसबीच, लामिछाने चितवन-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्। उनले विभिन्न सहकारी मुद्दामा आफ्नो भागको बिगोबापत करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका थिए।

अब सर्वोच्च अदालतको निर्णयले मुद्दा फिर्ता सम्बन्धी विवादको अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ।