संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखराका खडकप्रसाद पौडेल (गनेस) बन्ने भएपछि पर्यटन व्यवसायी र सरोकारवालाहरू उत्साहित भएका छन्। बालेन शाहको नेतृत्वमा आज गठन हुन लागेको मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पौडेल पर्यटनमन्त्री बन्दै छन् ।
पर्यटनको राजधानी मानिने पोखराबाट निर्वाचित प्रतिनिधी पर्यटन मन्त्रालयको नेतृत्वमा पुग्ने सम्भावनाले गण्डकी प्रदेशको पर्यटन क्षेत्र विशेष रूपमा आशावादी बनेको छ। पोखराको पर्यटन व्यवसाय, साहसिक खेल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र अन्तर्राष्ट्रिय उडान विस्तारसँग प्रत्यक्ष रूपमा जोडिएका मुद्दाहरूलाई राष्ट्रिय नीतिमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार पोखराको वास्तविक समस्या र सम्भावना बुझेको व्यक्ति मन्त्रालयमा पुग्दा पर्यटन नीति निर्माण र पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, अन्तर्राष्ट्रिय उडान विस्तार, हिमाल–ताल–संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धन जस्ता विषयमा ठोस पहल हुने आशा गरिएको छ।
गनेस पौडेल साहित्य, सामाजिक अभियान र वैकल्पिक राजनीतिक विचारबाट सार्वजनिक जीवनमा उदाएका व्यक्तित्व हुन्। पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मिएका उनले सुरुमा साहित्य लेखन र सामाजिक अभियानमार्फत आफूलाई स्थापित गरेका थिए। लेखक, अनुवादक र पठन संस्कृतिका अभियन्ताका रूपमा चिनिएका पौडेल पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतिक बहसका एक सशक्त आवाजका रूपमा देखिँदै आएका छन्।
वास्तविक नाम खडगराज पौडेल भए पनि उनी गनेस नामबाटै बढी परिचित छन्। विसं २०७९ को स्थानीय तह निर्वाचनमा उनले पोखरा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै ‘लौरो’ चुनाव चिह्न लिएर चुनाव लडेका थिए। उक्त निर्वाचनमा उनले ५ हजार १२८ मत प्राप्त गरेका थिए। यद्यपि उनी विजयी हुन सकेनन्, तर त्यो चुनावले उनलाई पोखरामा वैकल्पिक राजनीतिक आवाजका रूपमा स्थापित गरिदियो।
स्थानीय तह निर्वाचनपछि उनले दलीय एकाधिकार, भ्रष्टाचार र प्रशासनिक बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए। उक्त अभियानमार्फत देशका विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूलाई चुनावी मैदानमा उत्रिन प्रेरित गरिएको थियो।
यसपटक भने उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिए। कास्की–१ बाट उम्मेदवार बनेका उनले ३९ हजार ८८३ मतसहित प्रभावशाली जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत र नेकपाका राजकाजी गुरुङले २ हजार ४७९ मत प्राप्त गरेका थिए।
राजनीतिमा प्रवेश गर्नुअघि पौडेल साहित्यिक क्षेत्रमा निकै सक्रिय थिए। विसं २०७४ मा प्रकाशित उपन्यास ‘पैताला’ मार्फत उनी लेखकका रूपमा उदाएका थिए। उनले विश्वप्रसिद्ध अमेरिकी लेखक जोन स्टेनबेकको चर्चित कृति इा :ष्अभ बलम :भल को नेपाली अनुवाद ‘मुसा मानुष’ समेत गरेका छन्।
पोखरामा पठन संस्कृतिको विकासका लागि उनले स्थापना गरेको ‘र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ अहिले पुस्तक चर्चा, साहित्यिक बहस र पठन संस्कृतिको प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा परिचित छ।
विसं २०३६ मा पोखरामा जन्मिएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेका छन्। उनले केही समय शिक्षण पेशामा समेत काम गरेका अनुभव छ।
अब उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्ने तयारीमा छन्। पर्यटनको राजधानी पोखराको प्रतिनिधित्व गर्ने नेता पर्यटन मन्त्रालयमा पुग्न लागेकाले पोखरासहित समग्र नेपालको पर्यटन क्षेत्रले नयाँ गति पाउने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूको विश्वास छ पोखराको सम्भावना, समस्या र आवश्यकता नजिकबाट बुझेका गनेस पौडेलको नेतृत्वमा पर्यटन नीति, अन्तर्राष्ट्रिय उडान विस्तार र सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा ठोस पहल हुन सक्छ। यही कारणले पनि उनको सम्भावित नियुक्तिलाई पर्यटन क्षेत्रले आशा र उत्साहका साथ हेरेको छ।















