इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परेर क्षतिग्रस्त भएको छ। सोमबार महान एयरलाइन्सको एक विमान इरानको मशहद विमानस्थलमा पार्क गरिएका बेला अमेरिकी आक्रमणमा परेको बताइएको छ।
उक्त विमान औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री लिएर भारत आउने तयारीमा रहेको थियो। हमलाका कारण विमानमा क्षति पुगेको जनाइएको छ, तर मानवीय क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन। यसबीच अमेरिका–इजरायल र इरानबीच जारी सैन्य तनाव आज ३१औँ दिनमा प्रवेश गरेको छ। लगातारको आक्रमण र प्रतिआक्रमणका कारण क्षेत्रीय अवस्था थप जटिल बन्दै गएको छ भने तनाव तत्काल साम्य हुने संकेत देखिएको छैन।
यसैबीच युरोपेली संघ (ईयू) ले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धलाई थप एक वर्षका लागि विस्तार गर्ने निर्णय गरेको छ। अब ती प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन्।
ईयूका अनुसार प्रतिबन्धको सूचीमा परेका व्यक्ति तथा संस्थाहरूले युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ। साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुन सक्ने उपकरणहरू इरानमा निर्यात गर्न पनि रोक लगाइनेछ।















