अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी अमेरिकी सैन्य कारबाही दुईदेखि तीन हप्ताभित्र अन्त्य हुन सक्ने बताएका छन्। उनले युद्ध अन्त्यका लागि इरानसँग कुनै सम्झौता गर्नैपर्ने अवस्था नरहेको पनि स्पष्ट पारेका छन्।
मंगलबार ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका छिट्टै सैन्य अभियानबाट बाहिरिन सक्ने संकेत दिएका हुन्। “हामी धेरै छिट्टै बाहिरिँदैछौं। दुई हप्ता, सायद दुई हप्ता, सायद तीन हप्ता भित्र,” ट्रम्पले भने।
इरानसँग कूटनीतिक सम्झौता सफल नभए पनि युद्ध अन्त्य हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा उनले भने, “इरानले मसँग सम्झौता गर्नैपर्छ भन्ने छैन। उनीहरूले सम्झौता गर्नैपर्छ भन्ने छैन।”
यसबीच ट्रम्पले युरोपेली सहयोगी देशहरूमाथि आलोचना पनि गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उनले बेलायतजस्ता देशहरूलाई लक्षित गर्दै स्ट्रेट अफ हर्मुजको अवरोधका कारण जेट इन्धनको अभाव झेलिरहेको भन्दै ती देशहरूले आफैं पहल गर्नुपर्ने बताएका छन्।
“युनाइटेड किङडमजस्ता देशहरूले ढिलो भए पनि साहस देखाउनुपर्छ, जलडमरूतिर जानुपर्छ र त्यसलाई आफैं नियन्त्रणमा लिनुपर्छ,” ट्रम्पले लेखेका छन्।
यसैबीच मध्यपूर्वमा युद्धको अवस्था भने अझै तनावपूर्ण बनेको छ। लेबनानको राजधानी बेरुतमा भारी हवाई आक्रमण भएको छ। इजरायली सेनाले ती आक्रमण हिज्बुल्लाहका एक कमाण्डर र अर्का वरिष्ठ नेतामाथि लक्षित गरिएको जनाएको छ।
















