चैत्र ६ गते बस्ने प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चैत ६ गते प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा चैत्र ६ गते बोलाइएको बैठकमा सो कार्यक्रम हुने जानकारी दिएका हुन् ।

उनले त्यस कार्यक्रममा लागि यही चैत्र २ गते शुक्रबार अपराह्न ३ बजेसम्म प्रधानमन्त्रीलाई सोध्ने प्रश्न संङ्घीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय समक्ष बुझाउन पनि सांसदहरुलाई निर्देशन दिए ।

सभामुख घिमिरले भने, ‘‘प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० चैत्र ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ४ मा रहेका माननीय सदस्यहरुले यस पटक प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० चैत्र २ गते शुक्रबार दिनको ३ बजे भित्र सङ्घीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिइसक्नुपर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।’’

प्रतिनिधि सभाको अर्को बैठक चैत्र १ गते बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।