प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ ऊर्जाका साथ काम गर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकबाट १५७ जना सांसदको समर्थन पाएलगत्तै उनले यस्तो बताएका हुन् ।
१५ महिनामा तेस्रो पटक विश्वासको मत लिएका उनले समृद्धि र विकासको मार्गचित्रमा आफ्नो समय खर्चिने बताए ।
‘विश्वासको मत दिनुहुने सत्ता सहयात्री दल लगायत सम्पूर्ण राजनीतिक दलमा आवद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु’, उनले भनेका छन्, ‘तपाईंहरूबाट प्राप्त यो विश्वास संसद्मा विश्वासको मत लिनुपूर्व वाचा गरेअनुरूप नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरूप खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु ।’
प्रचण्डलाई बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।
त्यस्तै स्वतन्त्र सांसदहरू डा। अमरेश सिंह र योगेन्द्र मण्डलको मत पनि उनले लिन सफल भए।