सभामुखलाई प्रधानमन्त्रीको जवाफ– ‘सदन खुलाउन भूमिका खेल्छु’

सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच कुराकानी भएको छ।

शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

आफ्नो पहलले सार्थक परिणाम नदिएको र शीर्ष दलहरुबीच पनि सहमति नभएको भन्दै सभामुख घिमिरेले सदनको अवरोध हटाउन भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो गरेको भन्दै घिमिरेले दलीय सहमतिबिना सदन अघि बढ्न नसक्ने स्मरण गराए ।

‘कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरू नै घण्टौं बस्दा पनि सहमति भएन’, सभामुखको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन आफूले भूमिका खेल्ने भन्दै एमाले नेतृत्वसँग कुरा गर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक सुभित्र सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएपछि त्यसो प्रकरणको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।