आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार अपराह्नपछि सम्पर्कविहीन भएका थिए ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार उनी अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए ।
‘आफन्तहरूले सोधिखोजी गरिरहनुभएको छ। उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएन,’ प्रजिअ पोखरेलले भने, ‘हामीले राति पनि खोजी कार्य जारी नै राख्यौं ।’ करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको पोखरेलले बताए । मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको उनले बताए।
पण्डित काठमाडौँको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् ।















