विराटनगरको नोबेल मेडिकल कलेजकी स्टाफ नर्स मृत भेटिइन, हत्याको आशङ्का

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको हो । शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।

डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको हो । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् ।

उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव भेटिएको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।