सर्लाही सदरमुकाम मलङ्गवामा दुई पक्षबीच झडप भएपछि कर्फ्यू जारी भएको छ ।
कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो ।
मलंगवाको पुरानो बसपार्क क्षेत्रमा शुक्रबार साँझ दुई पक्षबीच झडप भएको थियो । प्रहरीका अनुसार सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको छ ।
अवस्था नियन्त्रणमा लिन आज दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।
मलङ्गवास्थित नगरपालिका चोक, मुख्यबजार क्षेत्रसहित भित्री बस्ती र सडकमा समेत प्रदर्शन र ढुङ्गामुढा भएपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
शुक्रबार बेलुकादेखिको तनावका कारण मलङ्गवा बजार शनिबार ठप्प रह्यो । मलङ्गवा भएर चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन शनिबार सञ्चालन हुन सकेनन् ।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले धार्मिक, जातीय र सांस्कृतिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेको छ ।