वीपीको समाजवाद व्यवहारमा लागू हुन सकेन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोईरालाले वीपीको समाजवाद व्यवहारमा लागू हुन नसकेको बताएका छन् । आइतबार चितवनमा आयोजित ११० औं वीपी जयन्तीको अवसरमा वीपीको शालिक अनावरण तथा वृक्षारोपण कार्यक्रम कार्यक्रममा कोइरालाले वीपी भने जस्तो गरीब असाहय र समाजमा पछाडि परेकालाई निशुल्क शिक्षा स्वास्थ्य र रोजगारको व्यवस्था हुन नसकेको र वीपीको समाजवाद पनि व्यवहारमा लागू हुन नसकेको बताए ।

अग्रज नेताहरूको सम्झनामा बनाइएका शालिकहरू आन्दोलनको क्रममा तोडफोड भएकाले शालिकको पनि संरक्षण गर्नको लागि अभिलेख राख्न जरुरी रहेको उनको भनाइ थियो ।

नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य सहनसिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे । अहिले कांग्रेस यो कुराबाट कतै बिचलित भएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ ।

भरतपुर–३ मा रहेको वीपी शान्ति वनमा ३५ लाखको लागतमा उक्त शालिक निर्माण गरिएको हो । उक्त स्थानमा २०५३ सालमा ढलोटको पूर्ण कदको शालिक निर्माण भएपनि शालिक तोडफोड भएपछि अहिले नयाँ शालिक निर्माण गरिएको हो ।