सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलनको घोषणा

 त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका घोषणा गरेका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन् ।

आन्दोलन घोषणा गर्दै कर्मचारीहरूले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

यसैगरी, भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित पार्ने चेतावनी दिइएको छ । ‘यसबाट हुन सक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्नेछ,’ मागपत्रमा भनिएको छ,‘यस सम्वन्धमा बिरोधका थप कार्यक्रमहरु क्रमशः प्रकाशन गरिनेछ ।’
गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भएपनि विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका छन् ।

कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्‍याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो छ । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको चेतावनी यसअघि नै उनीहरुले दिइसकेका छन् ।यसअघि उनीहरूले सामुहिक सरुवाको माग गरेका थिए ।