त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास ठप्प भएको छ । आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन् ।
आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए ।
२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन् । कार्यस्थलमा नियमति उपस्थिति भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण समेत हुनपर्ने मागपत्रमा उल्लेख छ ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।
अमानवीय तरिकाले गिरफ्तार गरेकोले उनीहरुलाई रिहा गर्नुपर्ने, दोषि प्रमाणित नहुँदै कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने काम अविलम्ब बन्द गरिनुपर्ने लगायत माग कर्मचारीहरुले अघि सारेका छन् ।













