उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।
ज्यापु समाज यलको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई जनताले समर्थन गरेको बताए । तर, यसलाई असफल पार्न विभिन्न हत्कण्डा देखा पर्न थालेको बताउँदै उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, यसले विराम लिओस् । फेरि तैचुप मैचुप होस् भनेर नयाँ षड्यन्त्र देखा पर्न थालेका छन् ।’
उनले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताए ।
यस्तै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनँसंगै आधारभूत आवश्यता पुरा होस भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे । नेपाली जनताले चाहेजस्तो विकास समृद्धि पुरा हुन नसकेको भन्दै उनले सरकारको गम्भीर कार्यभार विकास समृद्धितर्फ अघि बढ्नु भएको उल्लेख गरे ।