शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पतालमा

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्री प्रचण्डसँगै सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू अस्पताल पुगेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा छन् ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । चिकित्सकहरुका अनुसार, नेम्वाङ बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारले अस्पताल लगेका थिए । राति १ः५० बजे अस्पतालमा पुर्‍याइएपनि चिकित्सकहरुले त्यसअघि नै उनको निधन भइसकेको घोषणा गरेका थिए ।

नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि केहिवेरपछि एमाले पार्टी कार्यालय च्यासल लगिँदैछ । भोलि (बुधबार) सम्म उनको शव पार्टी कार्यालयमा राखिने छ ।

Share