छिमेकीलाई फसाउन हजुरबुबा र नातिको हत्या

पश्चिम नवलपरासी-पश्चिम नवलपरासी प्रहरीले घटना घटेको एक महिनापछि सुस्ता गाउँपालिका-३ मर्चहवामा हजुरबुवा र नातिको हत्यामा संलग्न दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्यामा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षका चन्दन हरिजनको संलग्नता रहेको प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १ गते ६५ वर्षका हजुरबुवा यक्षलाल चमार र ११ वर्षका नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरेर बीभत्स हत्या भएको थियो ।

अनुसन्धानको क्रममा उनीहरूले छिमेकीसँगको रिस पोख्ने क्रममा दुई जनाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

छिमेकी अन्य व्यक्तिसँग झगडा भएको तर उक्त व्यक्ति माथि आक्रमण गर्ने उद्देश्यले कुरेर बसे पनि ती व्यक्ति नआएपछि, उसैलाई फसाउने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

‘हत्यामा संलग्न भनिएका युवाहरूको छिमेकीसँग समाने विवाद भएको र उक्त विवाद प्रहरीमा मिलापत्र समेत भइसकेको अवस्थामा बदला लिने उद्देश्यले चन्दनले साथी अजयको सहयोग लिएर हत्या गरेको खुलेको छ’, प्रहरी उपरीक्षक आचार्यले भने ।

उनीहरूले झगडा भएका छिमेकीलाई हत्या गर्न कुरेर बसे पनि, ती व्यक्ति नआएपछि उसैमाथि प्रहरीले शङ्का गर्न सक्ने आङ्कलन गरेर नजिकै बस्ने हजुरबुबा र नातिको हत्या गरी गाउँमै बसेका थिए ।

नारायणी नदी किनारमा एकान्त स्थानमा रहेको घरमा भएको हत्याका क्रममा संलग्न भएका दुई जना युवाले मादक पर्दा र लागु औषधको सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

दुवैजना माथि अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए।