बागलुङबाट पोखरा जाँदै गरेको जिप खोलाले बगायो, तीन जना बेपत्ता

बागलुङबाट पोखराका लागि छुटेको जिप खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । शनिबार साँझ बागलुङबाट छुटेको ग१ज ६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादी खोलामा आएको बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालका अनुसार अत्यधिक वर्षा भइरहेको र चालकले गाडी रोकेर ओत लगाउने बेला एक्कासी बाढी आएर तीन जनासहित गाडी बगाएको हो । भारी वर्षाका कारण खोजतलासमा समस्या भएको उनको भनाइ छ ।

बेपत्ता हुनेमा तीन जना पुरुष भएको तर उनीहरुको पहिचान खुलेको छैन । चालक भने गाडीबाट झरेको हुँदा बाँच्न सफल भएका छन् ।