एमाले र माओवादीबीच एकता वा सहकार्यको सम्भावना छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेसँग फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन् ।

राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन् ।

फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई उनले आग्रह गरे ।

‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । फेरि पनि कम्युनिष्ट पार्टीहरु मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरुलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस् । हामी त्यसलाई अस्वीकार गर्दछौं ।’

उनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुईपटकसम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे ।

नेता पुनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरूले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरुले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए । ती सबै हतियार निरंकुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रिकरणका लागि भएको स्वीकार गर्न आफूहरुलाई कुनै अप्ठेरो नरहेको उनको भनाइ छ ।