एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज, अध्यक्षमा ३ जनाको दाबी

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन आज ९आइतबार० कैलालीको धनगढीमा सुरु हुँदै छ ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन अहिले बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । आज उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने छ ।

अहिलेसम्म एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा तीन नेताले दाबी गरेका छन् । कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले अध्यक्ष पदमा आंकाक्षा देखाएका हुन् ।

प्रदेश अधिवेशनमा पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने छन् ।

अध्यक्षबाहेक अन्य सबै पदाधिकारीमा पनि आंकाक्षी धेरै छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।

अधिवेशनअन्तर्गत प्रदेश कमिटी चयनका लागि ९ वटै जिल्लाका गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएका छन् ।

सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट छनोट भएका छन् । दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट १ सय २८ जना प्रतिनिधि चयन भएका छन् ।

सबैभन्दा धेरै १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तह रहेको कैलालीका १ सय १७ जना प्रतिनिधि छन् ।

यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेल्धुराबाट १८ जना प्रतिनिधि रहेको अधिवेशन आयोजक कमिटिले जनाएको छ ।

यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ । कूल प्रतिनिधिमध्ये १ सय ७८ जना महिला छन् ।