बीआरआई कार्यान्वयनका लागि छिट्टै योजना बनाएर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीआरआई कार्यान्वयका लागि सरकारले छिट्टै कार्ययोजना बनाएर दुवैतर्फका साझा संयन्त्र परिचालन गरी काम गर्ने बताएका छन् ।

नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । यद्यपि वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।

नेपाल(चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित ‘बीआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारमा उनले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्र्याउन नसकेको स्वीकारेका छन् ।

उनले त्यसका लागि सरकारको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने प्रतिवद्धता जनाएका छन् ।

‘चिनियाँ पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस् । हामीबीच जीत(जीतको समबन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्धन गर्न सकिने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई पूराका पूरा अवसरमा बदलौ’, प्रधानमन्त्री प्रचण्डले भने ।

आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा एमओयू गरेको स्मरण गर्दै उनले अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको बताए । ‘यो मेरो लागि खुसीको कुरा हो, गर्वको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

आफूले हालै गरेको चीन भ्रमणको क्रममा बीआरआई परियोजना सम्बन्धी कामको कार्यान्वयन गर्ने बुँदामा पनि सहमति भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास व्यक्त गरे ।

आफूले बीआरआई परियोजना अघि बढाउन पहल गरे पनि बुद्धिजीवी वर्गले त्यसको चर्चा नगरिदिएको गुनासो उनले गरे ।