कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ ।
‘गएराति किम्रोङखोला पहिराले थुनिएको हो, अहिले १५ घण्टापछि खोलामा पानी बिस्तारै बग्न थालेको छ, एक्कासि फुटेमा क्षति हुने सम्भावना भएकाले सबैलाई सुरक्षित रहन खबर गरेका छौँ’, उनले भने ।
गुरुङका अनुसार करिब ११ वर्ष पहिले पनि किम्रोङ खोलामा त्यसरी नै पहिरो गएर खोला थुनिएको थियो । ‘अहिले फेरि त्यस्तै भयो । बाँध भएर ताल बनेको छ,’ उनले भने, ‘यो त जतिबेला पनि फुट्न सक्छ ।’ खहरे किम्रोङ खोला तल आएर मोदी खोलासँग मिसिन्छ ।
किम्रोङखोला वडा नं ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ । मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए। सम्बन्धित वडाका जनप्रतिनिधि र बिरेठाँटी तथा नयाँपुलमा रहेको प्रहरी चौकीमा खबर गरी नदी थुनिएको जानकारी सबैमा प्रेषित गरिएको उनले बताए।